१५ चैत्र २०८०, बिहिबार
Header

बुहानबाट फर्केका नेपालीलाई भक्तपुरमा नराख्न भन्दै प्रदर्शन


प्रकाशित: बुधवार, २२ माघ २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । चीनको वुहानबाट फर्केका नेपालीलाई भक्तपुरको क्षेत्रमा नराख्न भन्दै प्रदर्शन भएको छ । 


कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ क्षेत्रीय समितिको बैठकले भक्तपुरको कुनै पनि ठाउँमा चीनबाट उद्धार गरिएकालाई राख्न नदिने निर्णय गरेको सेतोपाटीडटकमा प्रकाशित समाचारमा छ । 


सरकारले भक्तपुरको कृषि तालिम केन्द्र तथा खरिपाटीमा रहेको विद्युत प्राधिकरण तालिम केन्द्रमा उद्धार गरिएका नेपाली राख्न सकिने भन्दै अवलोकन भएपछि विरोध गरिएको हो । 


सरकारको सो प्रस्तावको स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका र विद्युत प्राधिकरणमा कालो झण्डा देखाएर विरोध गरेका हुन । 


कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार कांग्रेसले नगरकोट सडक चाँडो बनाउनको लागि दबाब दिन अनसन बस्ने समेत निर्णय गरेको छ ।


यस अघि चीनबाट ल्याइनेलाई इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्टमा राख्ने प्रस्ताव गरेको थियो । 


तर नागार्जुन नगरपालिकाले उक्त अपार्टमेन्टमा चीनबाट ल्याइएकालाई नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखिसकेको छ । 


नगरपालिकाले छेउछाउ घनावस्ती भएकोले सम्भावित संक्रमण फैलने डर बढेपछि स्थानीय बासिन्दाले विरोध गर्न सक्ने भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेको उल्लेख गरेको छ । 


सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपाली फिर्ता ल्याउने निर्णय गरेको छ ।


मंगलबारसम्म चार सय ९० जनाको मृत्यु भइसकेको छ भने २४ हजार तीन सय २४ जना संक्रमित छन । 


सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने अरू नाकाहरूमा विशेष हेल्प डेस्क राखेर भाइरस संक्रमितलाई भित्रिन नदिएको दाबी गरिरहेको छ ।


सरकारले चीनबाट उद्धार गरिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर कोरोनाभाइरस नभएको पुष्टी भएपछि मात्रै परिवारको सम्पर्कमा पठाउने बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD