७ बैशाख २०८१, शुक्रबार
Header

बुद्धकृष्णले अब अन्तिम पटक जिब्रो छेडाउने


प्रकाशित: आईतावार, २७ चैत्र २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले यसपटक अन्तिम पटक जिब्रो छेडाउने भएका छन ।


नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा ्बुद्धकृष्णले नवौं पटक जिव्रो छेडाउन लागेको हो । 


उनले आफूले यस पटक अन्तिम पल्ट जिब्रो छेडेर जात्रालाई निरन्तर दिन लागेको बताए । अब युवा पुस्ताले यस परम्परालाई निरन्तार दिएर लोप हुनबाट जोगाउनु पर्ने भनाई राखे । 


केही व्यक्तिलेहरु जिब्रो छेड्ने जात्रालाई बदनाम गरेर प्रचार गरेको उनले दुःख समेत व्यक्त गरेका छन । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको कारणले युवापुस्ता जिब्रो छेड्न तयार छैनन । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस नभई देवगण हुन उनले भने । 


यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण भएको उनको भनाईछ । 


जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उनी बताउँछन ।


व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।


जिब्रो छेड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आएपछि यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ ।


कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।


जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन ।


अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।


राससको सहयोगमा/फोटो रमेश गिरी

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD