९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

बीमाको भुक्तानी नआए महानगरले नै तिर्छः मेयर चिरिबाबु महर्जन


प्रकाशित: शुक्रवार, २३ माघ २०८२, १६ः४० बजे
- महानगरखबर

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य सेवाका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले नै उक्त रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन । 


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर महर्जनले बीमा रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको बताए । 


उनले कथंकदाचित भुक्तानी नआएर सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै व्यहोर्नुपर्ने अवस्था आउने उल्लेख गरे ।


“नेपाल सरकारले पैसा तिरेन भनेर सुनिन्छ । बीमाको कुरा गर्दा मन्त्रीज्युसँग कुरा गर्दा रिङ्गटा लागेजस्तो भयो,” उनले भने, “यदि बीमा नतिरेको कारण पाटन अस्पताल बन्द गर्नुपर्‍यो भने सबैभन्दा बढी गाली मैले नै खानुपर्ने हुन्छ ।”


मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पिएको खण्डमा महानगरपालिकाले नै दायित्व पूरा गर्ने स्पष्ट पारे ।


 “नेपाल सरकारले ललितपुर महानगरपालिकाले भुक्तानी गरिदिनु भनेर पत्र दियो भने म भुक्तानी गरिदिन्छु, जे पर्ला पर्ला,” उनले भने ।


कार्यक्रममा उनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र निर्माण भइरहेको जानकारी पनि दिए । 


उक्त केन्द्र निकट भविष्यमै सञ्चालनमा ल्याइने र त्यसपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत अझ प्रभावकारी सेवा दिन सकिने उनको भनाइ छ ।


मेयर महर्जनले ललितपुर महानगरपालिका र पाटन अस्पतालबीचको सहकार्यलाई देशभरका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यासको रूपमा प्रस्तुत गरे ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex