काठमाडौं । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रवर्तक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३ औं स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ ।
नेपाली कांग्रेस, भ्रातृ संस्था, बीपी संग्रहालय समिति तथा विभिन्न संघ–संस्थाहरूले बीपी कोइरालाको योगदानको स्मरण गर्दै विविध श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिरहेका छन ।
यस अवसरमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गरिँदैछ ।
कठोर सङ्घर्षका नायक
बीपी कोइरालाको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो । उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका थिए ।
वि.सं. २०१५ सालको आमनिर्वाचनपछि दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका उनले ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अघि सारेका थिए ।
तर, वि.सं. २०१७ मा शाही सेनाको बलमा निर्वाचित सरकार अपदस्त गरिएपछि उनीसहित नेताहरूलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।
निर्वासन र मेलमिलापको नारा
वि.सं. २०२५ मा जेलमुक्त भई भारतमा आठ वर्ष निर्वासित जीवन बिताएका कोइराला वि.सं. २०३३ पुस १६ गते आठवटा ज्यान मुद्दाको पर्वाह नगरी मेलमिलापको नारा लिएर स्वदेश फर्किए ।
आज पनि उनको मेलमिलाप नीति नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ ।
साहित्यिक योगदान
बीपी कोइरालाले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराको प्रवर्तन गरेका थिए ।
उनका चर्चित उपन्यासहरूमा तीन घुम्ती, सुम्निमा, मोदी आइन, हिटलर र यहुदी, नरेन्द्रदाई र बाबु, आमा र छोरा पर्छन्। साथै, श्वेत भैरवी र दोषी चश्मा कथा संग्रहका रूपमा प्रकाशित छन्। जेल जर्नल, फेरि सुन्दरीजल तथा आत्मवृत्तान्त उनका जीवनीपरक महत्वपूर्ण कृतिहरू हुन ।
बीपी संग्रहालय
वि.सं. २०६१ भदौ २४ मा सुन्दरीजलको ऐतिहासिक बन्दीगृहलाई बीपी संग्रहालयका रूपमा उद्घाटन गरिएको थियो ।
उक्त संग्रहालयमा बीपीको जीवनसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, वस्तु, २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर तथा नेपाल वायुसेवा निगमको अपहरण गरिएको विमान राखिएको छ ।
वि.सं. २०७२ को भूकम्पले क्षति पुर्याएपछि संग्रहालयको पुनःनिर्माण गरिएको छ ।
नेपाली राजनीतिमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल स्तम्भको रूपमा चिनिने बीपी कोइरालाको योगदानलाई स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली कार्यक्रम जारी छन
Categorized in राष्ट्रिय