२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बाल दिवसलाई उत्सवको रुपमा मनाउँदै लभ्ली होम


प्रकाशित: २०८१ भाद्र २६ बुधवार, १०ः२० बजे
- महानगरखबर

ललितपुर । यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो ।

 
दिवसको अवसरमा लभ्ली होमले ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा बाल दिवस मेला २०८१ को आयोजना गर्न लागेको छ । मंगलबार लभ्ली होमले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुको लागि खेलसहित मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । 


लभ्ली होम स्कूलकी संस्थापक माहेश्वरी अमात्यले बालबालिकाको बाल्यकाललाई अभिभावकहरुसँग जोड्दै विभिन्न खेल, सांस्कृतिक र विभिन्न गतिविधिहरु सहित मेलाको आयोजना गर्न लागेको बताइन् । ‘हामी बालबालिकाको बाल्यकाललाई एउटा उत्सवको रुप दिन चाहन्छौं । बालबालिकाको बालापनसँग जोड्दै अभिभावकलाई आफ्नो बाल्यकालको अनुभूति गराउन चाहन्छौं, जसले बाल दिवसलाई एउटा उत्सवको रुप दिओस्’ संस्थापक अमात्यले भनिन् । अरु दिवस वा अवसरलाई उत्सवको रुपमा मनाए जस्तै बाल दिवसलाई खासै महत्व नदिइएको परिस्थितीमा फाडर्स डे, मडर्स डेलाई उत्सवको रुपमा दिने बालबालिकाको दिवसलाई उत्सव किन नबनाउने भनी अमात्यले प्रश्न गरिन् । 

 

 


कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथै सिकाइ र पुस्तान्तरणको माध्यमको रुपमा विद्यार्थीहरुबाट कार्यक्रममा लाखेय्, पुलुकिसिको प्रस्तुति समेत रहने जानकारी लभ्ली होमका डान्स कोअर्डिनेटर सुजन बज्राचार्यले दिए । सोही पत्रकार सम्मेलनमा यल लाय्कू मिप्वाः लाखय् पुचःका संरक्षक उत्तम रत्न शाक्यले लाखेय् लगायतका स्थानीय संस्कृतिसँग जोडिएका अमूर्त सम्पदालाई रेस्टुरेन्ट, बार लगायतका ठाउँमा नचाएर दुरुपयोग गर्न नहुने तर यसको मूल्य मान्यतालाई कायम राख्दै विद्यार्थीहरुमार्फत पुस्तान्तरण हुनु राम्रो विषय भएको विचार राखे ।

‘विद्यार्थीहरु लाखय् नाच नाच्छन् भने उनीहरुले लाखय्बारे थाहा पाउँछन्, सिक्छन् । दुरुपयोग पो हुनु भएन, यसरी भविष्यका कर्णधारहरुलाई सिकाउनु त राम्रो कुरा हो’ संरक्षक शाक्यले भने । 


कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिको साथमा कार्यक्रमको मुख्य आकर्षणको रुपमा निशा देसार र रोजमान महर्जनको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । साथमा विभिन्न खाद्य परिकारका स्टलहरु, खेल गतिविधिहरुसहित विहानको ११ बजेदेखि साँझको ४ बजेसम्म मेलाको आयोजना हुने जानकारी आयोजकले दिएको छ । 


तस्वीरः नवराज कुँवर/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex