काठमाडौँ । बालाजु पोखरीको पुनःनिर्माणपछि सञ्चालनको तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।
२०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएर पानी चुहिन थालेपछि भएको पुनःनिर्माण पोखरीको काडमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन गरिएको छ ।
उपप्रमुख डंगोलले अनुगमनपछि पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएकी छिन । डंगोलले, पोखरी सञ्चालनलाई उद्यानको गुरुयोजना अन्तर्गत व्यवस्थापन गर्नु पर्ने उल्लेख गरिन ।
पुनःनिर्माण कार्यका बारेमा सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो ।’
‘पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ । लकरहरुको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।’ उनले भने ।
पुरानो शौचालय र स्नान घर पुनःनिर्माण गरिएको छ । उहाँका अनुसार पोखरीको प्रवेश मार्ग उद्यानको मुल ढोकाबाट मात्र भएकोले व्यवसायिक सञ्चालन गर्न कठिन छ । यसकारण दोस्रो चरणमा पोखरीकै छेउबाट ढोका खोल्ने लगायतका काम गर्ने योजना छ ।
बालाजुमा धेरै बाँदर भएकोले पोखरीमा उनीहरुलाई आउनबाट रोक्न चुनौती छ । यसलाई रोक्न फाइबर फेन्सिङ् गर्ने, क्याफ्टेरिया बनाउने, बालबालिकाका लागि पौडी पोखरी बनाउने, ड्राइ फाउन्टेन बनाउने, ओभरहेड पानी ट्याङ्की बनाउने लगायत योजना छन् ।
पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता गरेको छ । आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीका बिच सम्पन्न सम्झौताबमोजिम संघले १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति उपलब्ध गराउने छ ।
महानगरपालिकाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नु पर्नेछ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनु पर्नेछ । यो सम्झौता पोखरी सञ्चालन अवधिका लागि हो ।
अनुगमनको क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, कामपा १६ का अध्यक्ष रोजिना श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।
Categorized in पालिका