काठमाडौं । प्रहरीले बालाजु घट्नामा प्रहरीको भ्यान तोडफोड र आगजानी गर्नेहरु मध्ये ६ जनालाई पक्राउ गरेको छ ।
सोमबार भएको यातायात मजदुरको आन्दोलनको क्रममा भएको सो घट्ना संलग्नहरुलाई सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, फोटोलगायत विश्लेषण गरी पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा उदयपुर घर भई काठमाडौं बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरी भण्डारी रहेका छन ।
त्यसैगरी लमजुङ घर भई तार्केश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष खड्का पक्राउ परेका हुन ।
यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो ।
प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेको छ ।
सो आन्दोलकै क्रममा ल्होत्से मलमा लुटपाट गर्ने चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो । लुटपाटमा संलग्न अन्यको प्रहरीले समाजिक सञ्जालमा बाहिरिएका फुटेजका आधारमा खोजी गरिहेको छ ।
Categorized in समाज