काठमाडौं । बालविवाह अन्त्यका लागि बालिका विमा कार्यक्रम रुपेन्देहीको गैडहवा गाउँपालिकाले ल्याएको छ ।
गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।
बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए ।
विमा कार्यक्रम अन्तर्गत जम्मा भएको रकम रकम बीस वर्षपछि मात्र बैङ्कबाट झिक्न पाईनेछ । बालिका जन्मने वित्तिकै बालिकाको बैंक खाता खोल्नुपर्नेछ ।
गाउँपालिका अध्यक्ष केवटका अनुसार कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउनेछ । बीमा गर्न बच्चा अस्पताल वा प्रसुती गृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ ।
उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध कोहार समुदायमा बाल विवाहको प्रचलन छ ।
Categorized in बैंक