काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ ।
आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसन्तपुरमा आयोजित कार्यक्रममा औपचारिक रुपमा बागमती प्रदेशमा नेवा र तमाङ भाषा लागु गर्ने घोषणा गरेका हुन ।
अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएकोमा बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकार स्थापितसहित आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले देशको स्वाधीनता, स्वाभिमान र समृद्धि चाहनेका निम्ति आजको दिन विशेष गौरवको दिन भएको बताए ।
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको स्पष्ट पारे ।
घोषणा कार्यक्रमको व्यवस्थापन नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङ समुदायको राष्ट्रिय संगठन तामाङ घेदुुङले गर्ने भएको छ ।

प्रदेश सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ लागु भएको घोषणा गर्न बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको संयोजक्त्वमा ३०२ सदस्य रहेको मूल समारोह समिति गठन गरेको छ ।
बागमति प्रदेश सरकारले गत असोज २२ गते २०८० मा प्रदेश मुख्यमन्त्री शालिकराम जमरकट्टेलको विशेष पहलमा तत्कालिन संस्कृति, पर्यटन र सहकारी मन्त्री पुुकार महर्जनले ‘ प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ प्रस्तुत गरेको थियो ।







तस्वीरहरुः बिज्जु श्रेष्ठ, अकाशकुमार बज्राचार्य र अन्जितमान डंगोल/महानगरखबर
Categorized in सम्पदा/संस्कृति