काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अव्यवस्थित (सुकुम्बासी) बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि आवश्यक काम तत्काल थाल्न निर्देशन दिनुभएको छ ।
शनिबार थापाथलीस्थित वागमती नदी किनारमा खाली गराइएको स्थानको स्थलगत निरीक्षण गर्दै उहाँले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उक्त क्षेत्रको सुरक्षा र संरक्षण सुनिश्चित गर्न तारबार लगाउने कार्य अघि बढाउन निर्देशन दिनुभएको हो ।
यसका लागि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सम्बन्धित निकायसँग समन्वय गर्न तथा सार्वजनिक निर्माण विभागमार्फत तारबारको काम सुरु गर्न उहाँले जोड दिनुभयो ।
निरीक्षणका क्रममा कार्यवाहक प्रमुख डंगोलले अहिले मात्र होइन, आगामी दिनमा खाली गराइने अन्य स्थानहरूको समेत दीर्घकालीन संरक्षणका लागि योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
यसैबीच, आइतबार नै उहाँले नागार्जुन नगरपालिका–इचङ्गुस्थित कोलोनी क्षेत्रको पनि निरीक्षण गर्नुभएको छ । उक्त स्थानमा अव्यवस्थित बस्तीका वास्तविक भूमिहीन नागरिकलाई व्यवस्थापन गर्ने योजना रहेको महानगरले जनाएको छ ।
वडा नं. ११ का अध्यक्ष तथा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार थापाथली र वंशीघाट क्षेत्रमा गरी ३३२ घरटहरा रहेकामा थापाथलीतर्फका १३६ घरटहरा भत्काइसकिएको छ। वंशीघाट क्षेत्रमा भने १९६ घरटहरा रहेका छन्।
सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म फैलिएको बस्तीमा वडा नं. ९ मा १६२ र वडा नं. ३१ को दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा रहेका छन्। तीमध्ये वडा नं. ९ का सबै घरटहरा वैशाख १२ गते हटाइएको छ भने वडा नं. ३१ मा काम अझै जारी छ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्र र जागृतिनगरमा एकसाथ स्रोत साधन परिचालन गरी संरचना हटाउने कार्य भइरहेको छ। काठमाडौं र मध्यपुर थिमि दुवैतर्फबाट अभियान अघि बढाइएको छ।
यसैबीच, उपत्यका विकास प्राधिकरणका अनुसार महानगरका विभिन्न वडामा अझै ठूलो संख्यामा अव्यवस्थित बस्ती रहेका छन्। वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गमा ४६, वडा नं. १६ मा १९९ (जागृति मार्गमा १२३ र बुद्धज्योतीमा ७६), वडा नं. ३२ को जडीबुटी क्षेत्रमा ११४, वडा नं. १४ मा ४०१ र वडा नं. २९ अनामनगरमा २३ घरधुरी रहेका छन्।
वडा नं. १० का अध्यक्ष रामकुमार के.सी. का अनुसार देवीनगर, विनायकनगर र शंखमुल क्षेत्रमा करिब २३० परिवार बसोबास गर्दै आएका छन्। त्यस्तै वडा नं. ६ का विभिन्न स्थानमा समेत उल्लेख्य संख्यामा घरधुरी रहेको जनाइएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७९ सालको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बसोबास गर्दै आएका छन्। तीमध्ये काठमाडौं महानगरभित्र मात्र २ हजार २४५ घरधुरी रहेका छन्। पछिल्ला वर्षमा संख्या थपिएको अनुमान गर्दै हाल उपत्यकामा झण्डै ४ हजार अव्यवस्थित बसोबासी रहेको आँकलन गरिएको छ।
महानगरपालिकाले नदी किनार संरक्षण, वातावरणीय सुधार र सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ।
निरीक्षणमा प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक निर्माण विभागका प्रमुख तथा महानगर प्रहरी बलका अधिकारीहरूको सहभागिता रहेको थियो ।
Categorized in पालिका