काठमाडौँ । नेपाल संवत ११४७, न्हुँदको अवसरमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिले काठमाडौँको बसन्तपुरमा सांस्कृतिक र्याली तथा सभा आयोजना गर्ने भएको छ ।
समितिले नेपाल संवत नेपालको पहिचान, मौलिक संस्कृति तथा राष्ट्रिय गौरवको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले स्थापना गरेको नेपाल संवत्लाई राष्ट्रिय जीवनमा सम्मान र व्यवहारमा स्थापित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
समितिका अनुसार आगामी मंगलबार अर्थात विसं २०८३ कार्तिक २४ गते बिहान ६ः३० बजे बसन्तपुरबाट सांस्कृतिक र्याली सुरु हुनेछ । र्याली विभिन्न ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र हुँदै पुनः बसन्तपुर पुग्नेछ ।
र्यालीको मार्ग बसन्तपुर, चिंकमुुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, कोहिती, भीमसेनस्थान, मरु, प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, असन, इन्द्रचोक र हनुमानढोका हुँदै बसन्तपुर रहने जनाइएको छ ।
त्यसैगरी, सोही दिन दिउँसो १ बजे बसन्तपुरमा नेपाल संवत न्हूदँको अवसरमा सभा आयोजना गरिने समितिले जनाएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा आयोजित सांस्कृतिक र्याली तथा सभामा सहभागी हुन समितिले सम्पूर्ण जनसमुदायलाई आह्वान गरेको छ ।
Categorized in राष्ट्रिय