काठमाडौं । काठमाडौंको बसन्तपुरमा आईतवार येँया जात्रा (इन्द्रजात्रा)को रौनक देखिएको छ ।
कोराना महामारीको विच पनि आफ्नो संस्कृति, सम्पदा र परम्परालाई निरन्तरता दिन काठमाडौंवासीहरुले स्वास्थ्य मापदण्ड अपनाएर उल्लासका साथ जात्रामा सहभागी भएका थिए ।
आजबाट कुमारी रथ यात्रा सुरु हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, संघीय तथा प्रदेश सभा सदस्यहरु र जनप्रतिनिधिहरु गद्दी वैठकबाट कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए ।
कुमारी घर अगाडि गद्दी बैठकबाट राष्ट्रपतिले कुमारीको दर्शन गरिसकेपछि रथ यात्रा थालिएको थियो । राष्ट्र प्रमुखले रथ यात्रा अघि कुमारीको दर्शन गर्ने चलन जय प्रकाश मल्लका पालादेखि चलेको प्राचिन विश्वास छ ।
कुमारीको रथ यात्राको पहिलो दिन क्वःने लागा अर्थात तल्लो टोल भुतिसः, चिंकमुगल, अट्को नारायण, मजिपाट, न्हूघ, ज्यावहाः, लगन, गोफल, व्रह्मटोल, ह्युमत, तुकंवहा, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, बिच्छेवहाः, क्वपुंतुं, सिंहसत्तल हुँदै कुमारी घरसम्म लगिन्छ । आजको दिनलाई ‘क्वः नेया’ भनिन्छ ।
इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलि आएको चलन भन्ने भनाइ राख्ने संस्कृतिविद्हरु पनि छन । तर जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रुपमा पूजा गर्ने चलनलाई मल्लकालीन शासनबाट सुरु भएको मानिन्छ ।
तत्कालीन तान्त्रिक राजाको तलेजु भवानीसँग भेटभएपछि देवीको सुन्दरताबाट लोभिएर राजाको मनमा भोग बासना उब्जियो । राजाको मनमा आएको यो पाप थाहा पाएपछि देवीले राजालाई श्राप दिइन ।
देवीले दिएको त्यो पाप कटाउन र शासन बचाउन तलेजु भवानीको प्रतीकका रुपमा कुमारी रथ यात्रा शुरु गरिएको मान्यता पनि छ । यसैकारण पनि कुमारीको रथ यात्रा हुनु पूर्व गणेश भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ ।
रथ यात्रा गर्दा कुनै प्रकारको अमङ्गल नहोस भनेर गणेश, र सुरक्षाकालागि क्षेत्रपालका रुपमा भैरव र अजिमाको पूजा गरिन्छ । राष्ट्र प्रमुखले कुमारीको दर्शन गर्ने दिन अर्थात् कुमारी रथ यात्राको पहिलो दिन तल्लो टोलमा टोल पूजा नगरी रथ तान्नु हुँदैन भन्ने विश्वाशका साथ त्यस दिन जैसी देवल र आसपासका क्षेत्रमा स्थानीय नेवार समुदायका मानिसहहरुले टोल पूजा गर्ने गर्छन ।
त्यस बेला राखेको समयवजीलाई सामुहिक रुपमा प्रसाद ग्रहण गर्ने चलन छ । जैसी देवलमा हुने यस प्रकारको पूजा (त्वा पूजा) सम्पन्न भयो भन्ने खवर बसन्तपुर कुमारी घरमा नपुगी रथ यात्रा अघि नबढ्ने बताइन्छ ।
यस बर्ष भने कोविड संक्रमणबाट हुन सक्ने खतराबाट भक्तलाई बचाउन समयबजी प्रदर्शन गरिएन । पूजा विधिलाई निरन्तरता दिन समयबजीमा प्रयोग हुने खाद्य परिकार, फलफुल र मिठाईबाट पूजा विधि गरियो ।
भाद्र शुक्ल द्वितियाका दिन कालभैरव अगाडि गाडिने यः सिं अर्थात इन्द्रध्वज खोजेर ल्याउने र गाड्ने काम मानन्धर समुदायका मानिसले गर्छन । गुठीयारहरु भदौ २३ गते विहान १० बजेर ५२ मिनेटको साइतमा बनयात्रा गएका थिए ।
भदौ २९ गते मंगलबार विहान १० बजेर ३४ मिनेटको साइतमा गुर्जुको पल्टन र सांस्कृतिक बाजागाजासहित लिङ्गोलाई नगर प्रवेश गराइएको थियो ।
यसै गरी असोज २ गते शनिवार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उठाइएको थियो । यसैदिनदेखि बसन्तपुरमा रहेको हाथुद्यः (श्वेत भैरव) को दर्शन गर्न र प्रसाद ग्रहण गर्न सर्वसाधारण सबैका लागि खुल्ला गरिएको छ ।
सोमवार माथिल्लो टोलमा रथ यात्रा हुनेछ । जात्रामा लाखे, आकाश भैरव, पुलुकिसी, हलचोक भैरव, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन ।
असोज ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राती १० बजेर ३६ मिनेटको साइतमा इन्द्रध्वज ढालिनेछ । ढालिएको लिङ्गो टेकु दोभानमा सेलाएपछि जात्रा सकिएको मानिन्छ ।
Categorized in सम्पदा/संस्कृति