काठमाडौ । काठमाडौं झिलिमिली बनाउने महानगरको पूर्व अभियानलाई निरन्तरता दिएकोमा पूर्व प्रमुख विद्यासुन्दर शाक्यले प्रमुख बालेन्द्र साह (बालेन) लाई धन्यवाद दिएका छन ।
यस अघि पनि महानगरपालिकाको लागि आवश्यक दमकल खरिद गरिसकेपछि त्यसको तयारी अघि बढाएकोमा प्रमुख शाहलाई शाक्यलाई धन्यवाद दिएका थिए ।
३ बर्ष अघि शाक्यकै कार्यकालमा सहरका मुख्य मुख्य चोकमा आधुनिक सडक बत्ति बाल्ने गरेको सहमतिलाई अघि बढाउन महानगरले गरेको कार्यको प्रंशसा गर्दै शाक्यले प्रमुख साहलाई धन्यवाद दिएका हुन ।
शाक्यले भने,‘ काठमाडौंका सडकहरु झिलिमिलि बनाउने विषयमा तीन वर्ष अघि भएको सहमति कार्यान्वयन गर्न लागिएको थाहा पाउँदा खुशी लागेको छ । मेयर शाहलाई धन्यवाद ।’
वि.स. २०७७ मंसिर २५ गते महानगरपालिकाका मुख्य मुख्य क्षेत्रहरुमा सडक बत्ती जडान गर्ने भनि महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति भएको थियो ।
सहमति अनुरुप कार्य शुरु गर्न मंगलबार तीन वटै निकायबीच सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ । सम्झौतामा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमान गरिएको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात वसन्तकुमार नेम्वा∙ र तत्कालीन महानगर प्रमुख शाक्यको उपस्थितिमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, तत्कालीन प्राधिकरणका का.मु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, तत्कालीन विभागका महानिर्देशक केशवकुमार शर्माबीच सो सहमति भएको थियो ।
अहिले महानगरको तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणको तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले सो सहमित कार्यन्वय नर्ग हस्ताक्षर गरेका छन ।
सहमति अनुसार महानगरपालिकाले ६० प्रतिशत र प्रधिकरणले ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने सहमतिपत्रमा उल्लेख गरिएको थियो। प्राधिकरणले व्४० प्रतिशत रकम पनि शुरुमा महानगरपालिकाले राखिदिने र सो रकम आउने कार्यक्रममा प्रधिकरणले गर्ने लगानीमा समायोजन गर्ने सहमति भएको थियो ।

सहमति अनुसार महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन । यी सडकवत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।
यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन ।
यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडक बत्ती प्रयोग भएवापत्को शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।
Categorized in स्थानिय