काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ का लागि देशका ६ मध्ये ५ महानगरपालिकाले असार १० गतेभित्रै बजेट सार्वजनिक गरे पनि काठमाडौं महानगरपालिकाले भने तोकिएको मितिमा बजेट पेस गर्न सकेन ।
निर्धारित समयमै बजेट नल्याएको विषयलाई लिएर महानगरको बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र (बालेन) शाहप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
मंगलबार बसेको अनौपचारिक बैठकमा समितिले मेयर शाहले अझै बजेट ल्याउने विषयमा बेवास्ता गरिरहेको भन्दै गम्भीर बन्न आग्रह गर्ने निर्णय गर्दै बुधबार मेयर शाहलाई औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ।
समितिका अनुसार मेयर शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत डाक्न पहल नगरेकाले बजेट प्रक्रिया प्रभावित भएको हो । त्यसैका कारण समयमै बजेट तर्जुमा र प्रस्तुत हुन सकेन।
यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई मेयर शाहले कार्यालय प्रवेशमै रोक लगाएपछि विवाद चुलिएको थियो।
गुरागाईँले काठमाडौं टावरको तला थप्न स्वीकृति दिएको विषयमा मेयर असन्तुष्ट थिए । सो विवादसँगै संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई अन्यत्र नसरुवा गरेर काठमाडौंमै राखेपछि मेयर शाह र संघीय सरकारबीच ’इगोको लडाइँ’ चलेको आरोपसमेत लाग्दै आएको छ ।
बजेट समयमै नल्याउँदा अबको केही दिनमै महानगरले सञ्चालन गर्दै आएको विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरिक भत्ता, फोहोरमैला संकलन तथा व्यवस्थापनलगायतका कार्यमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ अनुसार आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिका बैठकबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख सुनिता डंगोल हुन । समितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल लगायत विभिन्न समितिका संयोजकहरु छन ।
Categorized in पालिका