काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज रहेको स्पष्ट पारेको छ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा निगमले पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ग्यास अभावको चर्चा भएपछि यस्तो स्पष्टीकरण दिएको हो । निगमका अनुसार जाडोयामको उच्च मागलाई ध्यानमा राख्दै पर्याप्त मात्रामा ग्यास आयात भइरहेको छ ।
निगमले मासिक ४९ हजार ५ सय टन ग्यासको कोटा निर्धारण गरेकोमा सन २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ टन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ टन र २०२६ जनवरीमा ४७ हजार ३ सय ४ टन ग्यास आयात भई उपभोक्तामाझ वितरण भइसकेको जनाएको छ । यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको निगमको दाबी छ ।
बजारमा केही सीमित ग्यास उद्योगका सिलिन्डरमा मात्र सामान्य समस्या देखिएको स्वीकार्दै निगमले ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाउन निर्देशन दिइसकेको जनाएको छ ।
व्यवस्थापकीय कारणले देखिएको समस्या छिट्टै समाधान हुने र सबै ब्रान्डका ग्यास सहजै उपलब्ध हुने निगमले विश्वास दिलाएको छ ।
आपूर्तिमा देखिएको सामान्य असन्तुलन समाधान गर्न प्रभावकारी कदम चालिएको भन्दै निगमले फेब्रुअरी महिनाका लागि थप तयारी समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “आसन्न निर्वाचन र वर्तमान मागलाई मध्यनजर गर्दै फेब्रुअरीका लागि नियमित कोटामा थप २ हजार टन ग्यास आयात गर्ने निर्णय गरिएको छ ।”
यसका लागि इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न ‘बोटलर्स वाइज एलोकेसन’ पठाइसकिएको निगमले जनाएको छ ।
Categorized in बजार