७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसलाई कांग्रेसले दियो बधाई


प्रकाशित: शुक्रवार, २५ साउन २०८१, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई नेपाली कांग्रेसले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।


कांग्रेसको शुक्रबार भएको केन्द्रीय कार्यसमितिको बैठकले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सो बधाई ज्ञापन गरेको हो ।


बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा जारी गरेको प्रेस विज्ञप्तीमा कांग्रेसले अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ ।


विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेषगरी हिन्दू, बुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना प्रति नेपाली कांग्रेसले चिन्ताजनक भएको उल्लेख गरेको छ ।

 
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा भएको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । 


केन्द्रीय कार्यसमितिको बैठक साउन २७ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex