काठमाडौं । दक्षिण एसियाली मुलुक बाङ्ग्लादेश ले डेढ वर्षपछि पुनः जननिर्वाचित सरकार पाएको छ ।
हालै सम्पन्न आम निर्वाचनपछि तारिक रहमान ले मंगलबार प्रधानमन्त्रीको शपथ लिएका छन्। उनी बेगम खालिदा जिया का छोरा हुन ।
शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस तथा राष्ट्रपति मोहम्मद शहाबुद्दीन को उपस्थिति रहेको थियो ।
विभिन्न देशका प्रतिनिधिहरू सहभागी भएको उक्त समारोहमा नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि सरिक भएका थिए ।
बीबीसी बाङ्ला का अनुसार बाङ्ग्लादेशको इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण कार्यक्रम खुला आकाशमुनि आयोजना गरिएको हो ।
फेब्रुअरी १२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाङ्ग्लादेश नेसनल पार्टी (बीएनपी) नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको थियो । प्रतिस्पर्धी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।
यससँगै १६ महिनादेखि शासन सम्हालिरहेको युनुस नेतृत्वको अन्तरिम सरकारले औपचारिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको छ ।
प्रमुख सल्लाहकार युनुसले सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै पदत्यागको घोषणा गरेका थिए ।
सन २०२४ को जुलाईबाट सुरु भएको विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको निर्वाचित सरकार ढालेको थियो। ५ अगस्ट २०२४ मा हसिनाले देश छाडेर भारतमा निर्वासन रोजेकी थिइन । त्यसयता बाङ्ग्लादेशमा युनुस नेतृत्वको अन्तरिम सरकार कार्यरत थियो ।
नयाँ सरकारसँग अब राजनीतिक स्थायित्व कायम गर्ने, आर्थिक सुधारलाई गति दिने तथा क्षेत्रीय सम्बन्ध सुदृढ गर्ने चुनौती र अपेक्षा दुवै रहने विश्लेषण गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय