२५ श्रावण २०८३, सोमबार
Header

फोनिज स्थापना दिवसको अवसरमा साँखु– मणिचुड पदयात्रा सम्पन्न 


प्रकाशित: आइतवार, २४ साउन २०८३, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवसको अवसरमा काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा वृक्षरोपण तथा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । 


शनिबार काठमाडौंको साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म करिब १७ किलोमिटर पदयात्रा सम्पन्न गर्ने क्रममा  विभिन्न गुम्बा तथा मन्दिर परिसरमा वृक्षरोपणसमेत गरिएको आयोजकले जनाएको छ ।


फोनिजमा आबद्ध काठमाडौं जिल्लाका पत्रकार, स्थानीय जनप्रतिनिधि तथा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिको सहभागितामा साँखुमा भेला भई बज्रयोगिनी मन्दिर परिसरबाट पदयात्रा सुरु गरिएको थियो ।  


पदयात्रामा फोनिजकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित ६८ जनाको सहभागिता रहेको थियो । 


पदयात्रापछि मणिचूड दहमा आयोजित औपचारिक कार्यक्रममा वक्ताहरूले धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धन र संरक्षणमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।


शंकरापुर नगरपालिका–८ का वडाध्यक्ष पोते थिङले मणिचूड दहको धार्मिक तथा पर्यटकीय महत्व भए पनि पर्याप्त प्रचारप्रसारको अभाव र राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रसम्बन्धी निश्चित मापदण्डका कारण यो क्षेत्र अझै ओझेलमा परेको बताए । 


मणिचूड दहसहित त्यस क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनका लागि वनसम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने उनको धारणा थियो ।


शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइबाले मणिचूड दह बौद्ध तथा हिन्दू दुवै धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रूपमा रहेको बताए । 


जनजाति समुदायको बाहुल्य रहेको यस क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूले पूजापाठ, मोन्लाम, साउन महिनाको जलयात्रा तथा जनैपूर्णिमालगायत धार्मिक तथा सांस्कृतिक पर्व मनाउँदै आएको उनले बताए । 


निकुञ्ज, स्थानीय तह र मन्दिर व्यवस्थापन समितिबीचको समन्वयमा क्षेत्रलाई थप व्यवस्थित बनाउने रणनीति रहेको उनको भनाइ थियो । 


राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क तथा गोकर्ण यज्ञडोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देलले वन, जंगल, जल र जमिनको संरक्षणमा जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । 


सांस्कृतिक पहिचान र अधिकारसँग जोडिएका क्षेत्रमा राज्यले समुदायलाई अप्ठ्यारो पार्न नहुने उनको भनाइ थियो। प्रकृतिपूजासँग जोडिएका जनजातिका चाडपर्वलाई सांस्कृतिक पहिचानका रूपमा विश्वमाझ चिनाउनुपर्नेमा उनले जोड दिए ।


फोनिज बागमती प्रदेश समितिका महासचिव राजु नापितले फोनिजले पत्रकारहरूको पेसागत हकअधिकारका साथै भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समेत योगदान गर्दै आएको बताए । 


फोनिज संघीय समितिका सचिव सुनिल महर्जनले पदयात्राले मनोरञ्जनसँगै अनुसन्धानका विभिन्न आयाम बुझ्ने अवसर दिएको उल्लेख गरे । 


मणिचूडको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्वलाई पत्रकारितामार्फत व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए। नेपालका आदिवासी जनजाति समुदायसँग जोडिएका कला, भाषा, धर्म, संस्कृति र पहिचानका विषयको अध्ययन तथा अनुसन्धान गरी विश्वसामु चिनाउने प्रयास फोनिजले गरिरहेको उनले बताए ।


फोनिज काठमाडौं जिल्ला समितिका अध्यक्ष भीमबहादुर लामाले सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यले स्थापना दिवसका अवसरमा पदयात्रा तथा वृक्षरोपण आयोजना गरिएको बताए । 


जनजाति पत्रकारहरूको पेसागत क्षमता अभिवृद्धि गर्न अध्ययन, अनुसन्धान तथा आलेख लेखनमा सहयोग पुर्‍याउने उद्देश्यले साँखु, बज्रयोगिनी र मणिचूड दहजस्ता धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रलाई पदयात्राको गन्तव्य बनाइएको उनले बताए ।


अध्यक्ष लामाले आदिवासी जनजातिको थातथलोमा राज्य तथा पहुँचवाला समूहबाट जलविद्युत् आयोजना, विकास निर्माण तथा राष्ट्रिय निकुञ्जका नाममा परिवार विस्थापित हुने अवस्था सिर्जना भएको आरोपसमेत लगाए।


फोनिज काठमाडौं जिल्ला कार्यसमितिका सचिव रत्नमान महर्जनले सञ्चालन गरेको कार्यक्रममा नेपाल प्रहरीका पूर्वडीआईजी देउती गुरुङ, गोकर्णेश्वर नगरपालिका–८ का वडा सदस्य सुमन लामा, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी उपाध्यक्ष कान्ति न्यौपाने, मणिचूड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम घ्लान, नेपाल बौद्ध धर्म संरक्षण संघका महासचिव उमा गुरुङ, सांस्कृतिक युवा समूहका अध्यक्ष वेचन लामा, समाजसेवी किरण मोक्तान, सोफिया पाख्रिनलगायतको उपस्थिति थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex