काठमाडौं । शुक्रवार तोलामै मूल्य करिब डेढ लाख पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ र तेजावी सुन १ लाख ७३ हजार ९ सय १० रुपियाँमा कारोवार भएको छ ।
यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।
सुन हिजोको तुलनामा ५ सय रुपैयाँ बढेको हो । विहार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला १ हजार ७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।
महासंघका अनुसार सुनको मूल्य तोक्ने दिनको ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन ।
नेपाली बजारमा पहिलो पटक २०७८ फागुन २२ गते सुनको मूल्य तोलाको एक लाख एक हजार नौ सय पुगेको थियो ।
डलर कमजोर भयो र अमेरिकी केन्द्रीय बैंक फेडको ब्याजदर कम भयो भने सामान्यतः सुनको मूल्य बढ्ने गर्छ । सुनको मुल्य बढ्नुमा राजनीतिक तनाव, मुलुकहरूबीच द्वन्द्व बढ्दै जानु पनि हो । यसअघि युक्रेन र रसिया युद्ध, इसराइल र प्यालेस्टाइनबीच भएको द्वन्द्वले पनि सुनको भाउ बढाउन मद्दत गरेको थियो ।
अर्को कुरा पछिल्लो समय नेपालमा सुनको मूल्य बढ्नुमा बढेको कर पनि हो ।
सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहँदा कतिपयले यही सन २०२४ अन्त्य अर्थात आगामी पुससम्ममा सुन प्रतिऔंस तीन हजार डलरसम्म पुग्ने अनुमान पनि गरिरहेका छन ।
यस्तो भएमा नेपालमा सुन तोलाको एक लाख ८१ हजार रूपैयाँसम्म पनि पुग्न सक्ने अनुमान गरिएको छ ।
Categorized in बजार