१५ बैशाख २०८२, सोमबार
Header

फागुन १० देखि ‘स्वयम्भू महोत्सव’ सुरु


प्रकाशित: मंगलवार, ६ फागुन २०८१, १०ः४० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा १५ ले आयोजना गरेको ‘स्वयम्भू महोत्सव’ फागुन १० बाट सुरु हुने भएको छ । 


महोत्सव फागुन १७ गतेसम्म जारी रहने वडा अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए ।  


वडा अध्यक्ष अध्यक्ष इश्वरमान डंगोलले महोत्सवको बारेमा जानकारी दिँदै भने,‘सबैले मेरो महोत्सव हो भन्न सक्ने, सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । यो पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय रहेको छ ।’


महोत्सवको अन्तिम तयारी पुरा भएको पनि वडा अध्यक्ष डंगोलले जानकारी दिए ।

 
वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गर्न लागेको उनको भनाई छ ।

 
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने योजना छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको छ । 


वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन गरिनेछ । यस्तै मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन् । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछ । 


महोत्सव प्रवर्धनका लागि साइकल र्‍यालीलगागत कार्यक्रम सम्पन्न गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex