काठमाडौं । इतिहासका पिता मानिने यूनानी इतिहासकार हेरोडेटस र यूनानी कवि क्यालिमाकसले विश्वका ७ आश्चर्यहरूको सूची तयार पारेको ईसा पूर्व पाँचौं र तेस्रो शताब्दीको कुरा हो । प्राचीन विश्वका यी ७ आश्चर्यहरूमध्ये हालसम्म कायम रहेको एउटै मात्र आश्चर्य छ– गिजाको पिरामिड ।
पिरामिड भन्ने बित्तिकै हामी मिस्र देश वा इजिप्ट र संसारको सबभन्दा लामो नदी भन्दै मानिँदै आएको नील (नाइल) नदी (हाल अमेजनपछिको दोस्रो लामो नदी मानिएको छ) सम्झन्छौँ । यही नदी किनारको गिजा भन्ने स्थानमा ३ ठूला पिरामिडहरू रहेका छन् । तिनीहरूमा सबभन्दा ठूलो पिरामिडलाई गिजाको पिरामिड हो । इजिप्टको राजधानी कायरोबाट २५ किलोमिटरको दूरीमा गिजा रहेको छ । गिजाको पिरामिडलाई त्यहाँ राखिएको फिरऊन खुफूको नामबाट खुफूको पिरामिड पनि भनिन्छ । यिनै खुफूलाई यूनानीहरू किओप्स भन्दछन् । त्यसैले यही पिरामिडको नाम किओप्स पिरामिड भन्ने पनि रहेको छ । पिरामिड यूनानी शब्द हो । अरबीमा पिर्ह शब्द नै प्रयोग गरिन्छ, जसको अर्थ चिहान भन्ने हुन्छ । फिरऊन अर्थात् राजा मरेपछि मोमिया बनाई समाधिस्थ गर्नका लागि नै पिरामिड बनाइन्छ ।
प्राचीन मिस्रका बारेका विज्ञहरूले यो पिरामिड १० देखि २० वर्ष लगाएर ईसापूर्व २५६० मा निर्माण पूरा गरिएको पनि भन्दछन् । गिजाको यस महान् पिरामिडको उचाइ पनि ४८१ फिट रहेको छ, यसका कारण करिब ३८०० वर्षसम्म पनि यो संसारमा मानवनिर्मित सर्वाधिक उचाइको संरचनाको रूपमा रह्यो । बेलायतको लिङ्कन शहरमा ५२० फिट अग्लो लिङ्कन क्याथड्रलको निर्माण सन् १३०० मा पूरा भए पछि मात्र यो विश्वको सर्वाधिक उचाइको संरचना रहेन । यसको चौतर्फी भागमा एकापट्टिको लम्बाई मात्र ७५६ फिट रहेको छ । पूरा पिरामिड ५९ लाख टनको रहेको अनुमान गरिएको छ । फिरऊन खुफूको एक जना भारदार हेमिउनुसमेतले यो पिरामिडको डिजायन तयार गरेको भनिन्छ । यसमा तीन चेम्बरहरु रहेका छन् । सबभन्दा तलको चेम्बर जग बनाइएको ढुङ्गामाथि नै छ र यो पूरा भएको छैन । अरु चेम्बरलाई राजाको चेम्बर र रानीको चेम्बर भनिने गरिएको छ । पिरामिडको बाहिरपट्टि चुनढुङ्गा छ भने भित्र पट्टि ग्रेनाइट ढुङ्गा प्रयोग गरिएको छ ।
हामीलाई गजब लाग्ने कुरा त के छ भने पिरामिडको प्रवेश द्वार जमिन भन्दा ५६ फिट माथि बनाइएको छ । यो उत्तरपट्टिको साइडमा रहेको छ । प्रवेशद्वारबाट भित्र पसेपछि ३ फिट जति मात्र उचाइ भएको साढे ३ फिट जतिको चौडाइ भएको सुरुङ्ग भएर तल झर्नुपर्ने हुन्छ । १०५ मिटर जति पर पुगे पछि सुरुङ्ग समथर हुन्छ र ८ मिटर जति पर तल्लो चेम्बर वा कोठा भेटिन्छ । यसको ९३ फिट पर छानोतिर चौकुन्ने द्वार छ जसबाट माथितिर लाग्न सकिन्छ । भनिन्छ, फिरऊन खुफूले पहिले आफूलाई तल्लो चेम्बरमै समाधिस्थ गरियोस् भन्ने चाहेका थिए, तर पछि उनले माथि चाहिन्छ भने त्यसअनुसार माथिको चेम्बर निर्माण गरियो । राजाको चेम्बर भनिने माथिको कोठामा एउटा भाँडा जस्तो बनाइएको ग्रेनाइट छ । यो ग्रेनाइटको भाँडो हामीकहाँ जलद्रोणी बनाइएको ढुङ्गा जस्तो देखिन्छ । पिरामिडमा ग्रान्ड चेम्बर पनि रहेको छ ।
धेरै वर्ष पछि यो पिरामिडमा जमिन तहमै पनि प्रवेश द्वार बनाइएको छ । यसैबाट हाल विशेष पर्यटकहरु जाने गर्दछन् । सामान्यतया यस पिरामिडमा प्रवेश पाइँदैन, बाहिरबाटै अवलोकन गरी जाने हो । पिरामिडहरु ईसापूर्व २७०० देखि बनाउन थालिएको हो । इजिप्टमा करिब ५०० वर्षसम्म बढी पिरामिड बनाउने प्रचलन रह्यो भने अन्यत्र पिरामिड बनाउने प्रचलन ईसाको चौथो शताब्दीसम्म रह्यो । राजाको आत्मा सूर्यलोकमा जाओस् भन्ने हिसाबले पिरामिडहरु माथितिर टुप्पो बन्ने हिसाबले बनाइएको मानिन्छ । इजिप्टको पुरानो राजतन्त्रको तेस्रो र चौथो वंशहरुमा इजिप्टले ठूलै सम्पन्नता हासिल ग¥यो । फिरऊन वा राजाहरू र अर्थात् सूर्यदेवबाट नियुक्त भएर प्रजालाई सुख दिन पठाइएका हुन् भन्ने मान्यता थियो ।
त्यसपछि मृत्यु पछि पनि फिरऊनहरुलाई सम्मान बनाइराख्ने प्रजाको कर्तव्य मानिन्थ्यो । मृत्युपछि फिरऊनहरु होरस भन्ने देवता बन्छन् भन्ने त्यो बेला मान्यता थियो । मृत्यु पछि आत्माको केही अंश मृतक शरीरमै रहन्छ र वरिपरि घुम्दछ भन्ने थियो । त्यसैले जीवनका लागि आवश्यक सामग्रीहरु पनि मोमियाको वरिपरि राखिन्थ्यो । पिरामिडको कुनाको सुर एकदमै मिलेका हुन्छन् । यो सूर्यको किरणसमान मानिन्छन् र यस सुरबाटै राजाको आत्मा माथि चढेर टुप्पा भएर सूर्यलोक पुग्छन् भन्ने मान्यता थियो ।
साभार ः हेरिटेज पोष्ट साप्ताहिक
Categorized in सम्पदा/संस्कृति