काठमाडौं । सोलुखुम्बुको छेस्का प्रहरी चौकीमा विप्लव समूहको आक्रमण प्रयास भन्ने समाचार झुठो भएको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ती जारी गरी जनाएको छ ।
विप्लव कार्यकर्ताले छापामार शैलीमा छेस्का प्रहरी चौकीमा आक्रमणको प्रयासको विभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशित भएपछि सो नभएको प्रकाण्डले विज्ञप्तीमार्फत बताएको छ ।
यता, प्रहरीले महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा विप्लव समूहले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीलाई सुरक्षित स्थानमा सारेको छ ।
सदरमुकाम सल्लेरीबाट ७५ किलोमिटर टाढा रहेको छेस्का प्रहरी चौकीका सबै सुरक्षाकर्मीलाई हटाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको विज्ञप्तीमार्फत प्रकाण्डले स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरूप त्यसप्रकारको त्यो समाचार (फेक न्युज) ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
Categorized in राष्ट्रिय