काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई (कृत्रिम बुद्धिमत्ता) तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारी गरिरहेको बताएका छन ।
सूचना प्रविधिको दुरुपयोग गरी झुटा तथा भ्रामक सामग्री प्रसारण गर्ने गतिविधि बढ्दै गएकाले त्यस्ता कार्यको निगरानी र कानूनी उपचारका लागि उक्त सेल आवश्यक भएको उनको भनाइ छ ।
सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण गलत तथा झुटा समाचार फैलिनु गम्भीर चिन्ताको विषय बनेको बताए ।
“आजको डिजिटल युगमा छिटो सूचना दिने होडबाजीले मिसइन्फरमेशन र फरक उद्देश्यसहित फैलाइने डिसइन्फरमेशन बढिरहेको छ । एआईको दुरुपयोग, हेट स्पिच तथा डिजिटल म्यानुपुलेशनबाट सिर्जित झुटा सामग्रीले समाजमा नकारात्मक असर पारिरहेको छ,” उनले भने ।
“कानून कार्यान्वयन नै कानूनी शासनको आधार हो, कट–पेस्ट र कपी–पेस्टको यान्त्रिकताले सृजनशीलतालाई कमजोर बनाउँछ।”
आईजीपी कार्कीले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई सञ्चारकर्मीहरूले आफ्नो पेशागत धर्मका रूपमा आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार भ्रामक सामग्री, हेट स्पिच तथा डिजिटल अपराधको निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले आगामी दिनमा एआई तथा एड्भान्स एनालेटिक सेल स्थापना गरी काम अघि बढाउने तयारी गरिरहेको छ ।
Categorized in समाज