काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरमा प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन भईरहँदा निर्णय कार्यन्वनमा समस्या हुने गरेको बताएका छन ।
बुधवार महानगरबाट सरुवा भई गएका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन ।
प्रमुख शाक्यले भने,‘प्रमुख प्रशासकीय अधिकृतहरु समय समयमा परिवर्तन भइरहने हुँदा निर्णय कार्यान्वयन प्रक्रियामा असर पर्ने र महानगरलाई लक्ष्यमा पुग्न कठिन हुने । मैले प्रमुख प्रशासकीय अधिकृत ल्याउन व्यक्ति छानेको छैन र सरुवा गरेर पठाउन कसैलाई भनेको छैन । आएका प्रशासकीय अधिकृतसँग समन्वय गरेको छु । कुरा बुझ्दा बुझ्दै पुरानोको सरुवा हुन्छ । नयाँ आउनेलाई कुरा बुझ्न समय लाग्छ ।’
नीति, बजेट र कार्यक्रम तथा क्षमता भएर पनि महानगरलाई लक्ष्यमा पुग्न कठिन हुनुका कारणमध्ये प्रशासनिक नेतृतव गर्ने प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा भइरहनु पनि एउटा भएको प्रमुख शाक्यको भनाई थियो ।

सो अवसरमा महानगरमा भर्खरै पदवहाली गरेका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले ज्ञवालीलाई ‘महानगर सेवा सम्मान’ र वुद्ध मूर्ति प्रदान गरेका थिए ।
२०७६ पुस १८ गते महानगरमा पदवहाली गरेका ज्ञवाली २०७८ पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासनको निर्णयबाट सरुवा भएका हुन ।
ज्ञवाली जनप्रतिनिधिहरुले पदबहाली गरेपछि महानगरबाट सरुवा भई जाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा छैटौ हुन । त्यसपछि क्रमशः धनिराम शर्मा, यादव कोइराला, केदार न्यौपाने, एकनारायण अर्याल र ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालले महानगरको लक्ष्य पूरा गर्न थोरै समयमा धेरै काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गरे । महानगरको वार्षिक लक्ष्य र कार्यक्रम कार्यान्वयनलाई तीब्र बनाएर जनप्रतिनिधिले जनतासँग गरेका वाचा पूरा गराउन प्रशासनिक नेतृत्वलाई समन्वयकारी बनाउने पौडयालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले काठमाडौँ महानगरपालिका स्थानीय सेवा, सहरी विकास र व्यवस्थापनको विश्वविद्यालय भएको बताउँदै भने,‘ ‘करीव २ बर्षे कार्यकालमा महानगरको संगठन संरचना, कर्मचारीको सेवा शर्त सम्बन्धी ऐन, समायोजन ऐनमार्फत १ हजार ५५१ जना कर्मचारीको समायोजनजस्ता काम अविस्मरणीय रहे । विषयलाई प्रक्रियामा लैजाने र निर्णय गर्न जनप्रतिनिधिसँग समन्वयकारी भूमिका गर्न प्रशासनिक नेतृत्व गर्ने अवसर पाएँ । यो मेरालागि पनि अविस्मरणीय रहनेछ ।’
कार्यक्रममा कर्मचारीहरुकातर्फबाट निर्देशकहरु महेशकुमार काफ्ले र वसन्त आचार्यले ज्ञवालीका कार्यकालमा भएका कामका बारेमा चर्चा गरेका थिए ।
कर्मचारी संघ संगठनकातर्फबाट स्थानीय तह कर्मचारी युनियन, महानगर एकाइका अध्यक्ष शिवजी भट्टराई र स्थानीय तह कर्मचारी संघ, महानगर एकाईका अध्यक्ष शम्भु बरालले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका पालामा कर्मचारी समायोजन गरेर पेशागत हितका लागि महत्वपूर्ण काम भएको धारणा राखेका थिए ।
कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष हीरालाल तण्डुकारसहित कर्मचारीहरुका उपस्थिती रहेको थियो ।
Categorized in स्थानिय