१० आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री २ पटक र संघीय सरकारमा १६ वटा, प्रदेशमा ६ मन्त्रालय


प्रकाशित: विहिवार, ७ फागुन २०८२, १६ः४७ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकालभन्दा बढी बन्न नपाइने व्यवस्था लागू गरिने बताएका छन । 


बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो नीति कार्यान्वयन गरिने जानकारी दिए ।


सभापति थापाले संघीय सरकारमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्ने व्यवस्था गरिने बताए । गठबन्धन मिलाउन मन्त्रालयको संख्या बढाउने अभ्यास अन्त्य गरिने उनले स्पष्ट पारे। “कसैले पनि प्रदेशमा गठबन्धन मिलाउन पर्‍यो भन्दै मन्त्रालयको संख्या बढाउन पाउँदैन,” उनले भने । 


नियुक्तिमा ‘अब्बल’ आधार


थापाले संवैधानिक तथा अन्य नियुक्तिहरूमा दलगत भागबन्डा अन्त्य गरिने र योग्यताका आधारमा ‘अब्बल’ व्यक्तिलाई प्राथमिकता दिइने बताए। कांग्रेसले संवैधानिक आयोग वा विश्वविद्यालयहरूमा भागबन्डा नखोज्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।


“पाँच वर्षको अवधिमा संवैधानिक आयोग वा विश्वविद्यालयमा भागबन्डा माग्न गएको कुरा सुन्नुपर्ने छैन,” उनले भने ।


५ वर्षभित्र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता


सभापति थापाले पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउने लक्ष्य रहेको बताए। यसका लागि २०४८ सालदेखि सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरिने उनले जानकारी दिए।


“आयोगले सबैको छानबिन गर्छ, कांग्रेसका व्यक्तिहरूको पनि हुन्छ। आयोगको निर्णय कार्यान्वयन गर्दा नेता वा नातालाई हेर्दैनौं,” उनले भने ।

 
सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेमा वर्षौं पछि पनि सजाय हुने मान्यता स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।


भ्रष्टाचार नियन्त्रणका लागि कानुनी सुधारसमेत गरिने उनले बताए। अख्तियारले नीतिगत भ्रष्टाचारसमेत हेर्ने व्यवस्था ६ महिनाभित्र गरिने र ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ तथा तोकिएको समयमा काम नगर्नुलाई समेत भ्रष्टाचारको परिभाषामा समेट्ने गरी कानुन बनाइने उनले उल्लेख गरे ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex