काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा २ दिन उद्घाटन र समारोहमा व्यस्त हुने भएको छ ।
प्रधानमन्त्री ओली आईतबार त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।
दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।
दमक नगरपालिका परिसरमा आज अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी आजै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारमाध्यमलाई बताए ।
प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै भोली (सोमबार) बिहान उनले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछ ।
प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय