२० श्रावण २०८३, बुधबार
Header

प्रधानमन्त्री बालेनले भेटे गृहमन्त्री र प्रधानसेनापति


प्रकाशित: मंगलवार, १९ साउन २०८३, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मंगलबार गृहमन्त्री सुधन गुरुङ र प्रधानसेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएका भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्था तथा समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले हालै मधेश क्षेत्रमा गरेको स्थलगत अनुगमन र त्यहाँको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । विशेषगरी सुनसरी र सिरहामा भएका घटनापछि विकसित परिस्थितिबारे ब्रिफिङ गरिएको बताइएको छ । 


साथै, आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिबारे पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ ।


गत १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । 


सोही घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनाको प्रभाव अन्य जिल्लामा फैलिँदा सिरहामा पनि गोली लागेर एक जनाको ज्यान गएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको थियो ।


यसैबीच प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गरेका छन्। भेटलाई पछिल्ला सुरक्षा अवस्थासँगै गोकर्णेश्वरस्थित सैनिक ब्यारेकको पर्खाल भत्काउने घटनासँग जोडेर पनि हेरिएको छ ।


हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले डोजर प्रयोग गरी सैनिक ब्यारेकको पर्खाल भत्काउन निर्देशन दिएको देखिन्छ । 


भिडियोमा नेपाली सेनाका एक अधिकृतले उक्त क्षेत्र सैनिक ब्यारेकभित्र पर्ने भन्दै आवश्यक प्रक्रिया पूरा गरेर मात्र काम अघि बढाउन आग्रह गरेको सुनिन्छ । तर सांसद पाण्डेले काम नरोक्न निर्देशन दिएको दृश्य सार्वजनिक भएको छ ।


घटनाबारे नेपाली सेनाले औपचारिक प्रतिक्रिया दिएको छैन । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री हाल रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकाले प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेट नियमित रहेको बताएका छन ।


सेनाले पछिल्लो सुरक्षा अवस्था र समसामयिक विषयमा नियमित ब्रिफिङ भएको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex