काठमाडौं । चारदिने भारत भ्रमण गएका प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड) लाई भारतीय संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरिन ।
बुधवार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुुगेको प्रधानमन्त्री दाहालको टोलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुुगेका प्रम दाहाल विमानस्थलमा स्वागतपछि उनी आरामका लागि होटल मौर्य प्रस्थान गरेका छन ।

प्रधानमन्त्रीसँग आजै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
भोलि बिहीबार बिहान ११ः०५ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ ।
त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ । अपराह्न साढे चार बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन ।
सोही दिन साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ ।
त्यही दिन उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्नेछन ।
भ्रमणको चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्डको फिर्ती उडान हुने बताइएको छ ।
भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल रहेका छन्।
त्यस्तै मुख्यसचिव शंकरदास वैरागीसहित ८ जना सचिवहरू पनि भ्रमण टोलीमा रहेको बताइएको छ।
तस्वीरहरुः प्रधानमन्त्रीको सचिवालय
Categorized in राष्ट्रिय