काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल चलाउने बताएका छन ।
मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै पेस गर्ने तयारीको लागि संघीय संसद्को आगामी अधिवेशनमा प्रस्तुत गर्ने घोषणा गरेका छन ।
प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि र जनताको सहभागिता बढाउनका लागि र कार्यान्वयनमा सहजताका लागि बजेटका सिद्धान्त र प्राथमिकतामा हुने छलफलको परम्परा तोड्न लागिएको जानकारी दिएका हुन ।
उनले आम नागरिकको समेत प्रतिक्रिया लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता सकेसम्म फागुनमै पेस गर्ने हाम्रो तयारी गरेको बताए ।
‘प्राप्त सुझावसमेत समेटी नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने गृहकार्यमा म छु । यसबाट नीति तथा कार्यक्रममा सबैको सहभागिता र अपनत्व स्थापित भइ कार्यान्वयन पनि सहज हुनेमा म विश्वस्त छु ।’ उनले भने ।
बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरूमा बजेट विनियोजन हुन सक्यो न खर्चको सही आँकलन नै हुनसक्यो सम्बोधनमा उनले भने ।
त्यसैले अब नीति योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा रहेको सुनाए ।
प्रि बजेट छलफल कर्मकाण्डी भएको भन्दै सांसदहरूले सधै सरकारको आलोचना गर्दै आएकोमा यसपटक त्यो परम्परा तोडेर प्रि बजेट छलफल फागुनमा नै गर्ने र यसो भएमा सांसदहरूले उठाएका विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहज हुने उनको भनाई छ ।
Categorized in राष्ट्रिय