काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यप्रगति र सरकारी गतिविधिहरू नागरिकस्तरमा प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले अबदेखि सामाजिक सञ्जालमार्फत चार भाषामा सूचना सार्वजनिक गर्न थालेकी छन ।
प्रधानमन्त्रीको आधिकारिक एक्स र फेसबुक अकाउन्टबाट नेपाली, अंग्रेजी, नेपाल भाषा र मैथिली भाषामा नियमित रूपमा पोस्टहरू प्रकाशित गर्न सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन ।
रावलका अनुसार, प्रधानमन्त्रीको कामलाई खुला, पारदर्शी र जवाफदेही बनाउन यो अभ्यास सुरु गरिएको हो ।
उनले भने, “हामी जनतामाझ खुला, पारदर्शी र जवाफदेही बन्न चाहन्छौं । त्यसैले विभिन्न भाषी जनताले प्रधानमन्त्रीका कामहरू सहजै बुझुन भन्ने हेतुले यो अभ्यास थालिएको हो । ”
हाल चार भाषामा सूचना प्रसारण भइरहेको बताउँदै उनले आगामी दिनमा थप भाषाहरूमा विस्तार गर्ने योजना रहेको बताए ।
“हामी योभन्दा धेरै भाषामा पनि सूचना पुर्याउन चाहन्छौं, तर सिमित समय र स्रोतका कारण अहिले चार भाषाबाट सुरु गरेका छौं,” उनले स्पष्ट पारे ।
प्रधानमन्त्री कार्यालयका अनुसार, यो पहलले मुलुकका विभिन्न भाषिक समुदायप्रति सम्मान प्रकट गर्ने र उनीहरूसम्म सीधा सूचना पुर्याउँदै डिजिटल संवादलाई अझ समावेशी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
Categorized in राष्ट्रिय