७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजयी खेलाडी सम्मानित


प्रकाशित: बुधवार, २५ असार २०८२, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जितेका नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मानसाथ नगद पुरस्कार प्रदान गरेका छन ।


बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले जापानमा सम्पन्न तेस्रो थाउलो वल्र्ड कपमा कास्य पदक जितेका विजय सिंह सिजालीलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान–प्रमाणपत्र प्रदान गरे । 


उक्त प्रतियोगिता गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा सम्पन्न भएको थियो ।


त्यसैगरी, गत फागुन २० देखि २५ गतेसम्म इरानमा आयोजित छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा काँस्य पदक जित्न सफल मनमति विष्टसहित खेलाडीहरूलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।


श्रीलङ्कामा असोज २० देखि २६ गतेसम्म भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जितेका अर्जुन नेपालीसहितका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार वितरण गरिएको हो ।


उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम हालै सम्पन्न असार ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पुरस्कार प्रदान गरिएको हो ।


यसैबीच, मलेसियामा असार ८ देखि २१ गतेसम्म आयोजित एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उपाधि जित्न सफल नेपाली टोलीलाई पनि प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।


कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासलाई सरकारको उच्च प्राथमिकता रहेको भन्दै खेलाडीहरू क्रमशः दक्षता र सफलता हासिल गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । “देशको गौरव बढाउने सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई धन्यवाद दिन चाहन्छु,” प्रधानमन्त्री ओलीले भने ।


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षको लागि यस वर्षको तुलनामा दोब्बर बजेट विनियोजन गरेको जानकारी दिँदै कीर्तिपुर क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको बताउँदै खेल क्षेत्रमा उत्साह थपिएको उल्लेख गरे ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex