काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूको सुन, नगद, घरजग्गा, सेयर लगानी तथा अन्य सम्पत्तिको विवरण सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं–९ मा ५ आना जग्गा तथा धनुषामा १ दशमलव २ बिघा जग्गा रहेको उल्लेख छ । उनका पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको छ ।
प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको उल्लेख गरिएको छ, जसको स्रोत पैतृक रहेको जनाइएको छ ।
त्यस्तै, प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको छ भने उनको आम्दानीको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइ उल्लेख गरिएको छ । सामाजिक सञ्जालका फलोअर संख्या समेत सम्पत्ति विवरणमा समावेश गरिएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
विराजभक्त श्रेष्ठ सँग १५ तोला सुन र ५० तोला चाँदी रहेको विवरण सार्वजनिक भएको छ । उक्त सम्पत्तिको स्रोत पैतृक तथा विवाहबाट प्राप्त भएको उल्लेख छ ।
उनको विभिन्न बैंकमा ५८ लाख ६४ हजार ६३६ रुपैयाँ मौज्दात रहेको छ भने सेयरमा १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ लगानी रहेको छ । साथै गाडी, स्कुटर र इभी गाडी समेत रहेको उल्लेख छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको घरजग्गा र सेयर लगानी
स्वर्णिम वाग्ले को चार जिल्लामा घरघडेरी तथा चार जिल्लामा जग्गा रहेको छ । ललितपुर सानेपामा १२८४ वर्गमिटरको अपार्टमेन्ट (करिब २ करोड रुपैयाँ) तथा भैँसेपाटीमा ५ करोड मूल्यको घर रहेको छ । काभ्रेको धुलिखेल र तनहुँको बन्दीपुरमा समेत घर रहेको उल्लेख गरिएको छ ।
उनको विभिन्न स्थानमा रोपनीका आधारमा जग्गा रहेको विवरण सार्वजनिक गरिएको छ । साथै ४५ तोला सुन, विभिन्न बैंकमा १ करोड ९० लाख रुपैयाँ मौज्दात तथा सानिमा मिडल तमोर हाइड्रो, सांग्रिला विकास बैंकलगायत कम्पनीमा उल्लेख्य सेयर लगानी रहेको छ ।
गृहमन्त्री सुधन गुरुङको सेयर लगानी
सुधन गुरुङ को सेयर बजारमा ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँभन्दा बढी लगानी रहेको विवरण सार्वजनिक भएको छ ।
धितोपत्र बजारमा कारोबार हुने सेयर, विभिन्न कम्पनीका साधारण सेयर तथा निजी कम्पनीहरूमा समेत उनको लगानी रहेको उल्लेख छ।
उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ भने पारिवारिक नाममा चितवन र गोरखामा समेत उल्लेख्य जग्गा रहेको विवरणमा जनाइएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति
निशा मेहता सँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ। यसको स्रोत दाइजो, उपहार तथा व्यक्तिगत खरिदबाट जोडिएको बताइएको छ ।
काठमाडौंको सौखेलमा ७ आना जग्गा, विभिन्न बैंक खातामा रकम तथा करिब २५ लाख रुपैयाँ मूल्य बराबरको ब्रान्ड आई–१० गाडी रहेको उल्लेख गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी
सीता वादी सँग कृषि तथा पशुधनतर्फ २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण सार्वजनिक भएको छ ।
विवाहमा १८ तोला सुन र १५ तोला चाँदी प्राप्त भएको तथा बैंक खातामा १५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।
थप मन्त्रीहरुको विवरण हेर्न यहाँ क्लिक गर्नहोसः
सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको पारदर्शिता सुनिश्चित गर्न प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलनअनुसार यसपटक पनि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको विवरण सार्वजनिक गरेको जनाएको छ ।
Categorized in राष्ट्रिय