काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागु गर्नु पर्ने बताएका छन।
शनिवार राजधानी काठमाडौंमा उक्त ‘एजेण्डा’लाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए ।
अखिल नेपाल ट्रेड यूनियन महासंघले आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष प्रचण्डले संविधान निर्माणका क्रममा राखिएका फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताएका हुन ।
उनले भने, ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयासप्रति माओवादी केन्द्रको सहमति छैन। हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने अधिकार कसैलाई छैन ।’
उनले प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक भएको उल्लेख गरे ।
‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,ु अध्यक्ष प्रचण्डले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र सङ्घमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउनेतर्फ लागेको देखियो। भ्रष्टाचारको मुहान सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’
करोडौँ खर्च गरेर सांसद र मन्त्री बन्ने अभ्यासप्रति बिमति जनाउँदै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरु कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्र भ्रष्टाचार रोक्न सकिने उनको तर्क थियो ।
Categorized in राष्ट्रिय