७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

प्रत्यक्षतर्फको मतगणना २४ घण्टाभित्र सक्ने आयोगको दाबी


प्रकाशित: बुधवार, २० फागुन २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोग नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सुरु भएको २४ घण्टाभित्रै सम्पन्न गर्ने दाबी गरेको छ ।


आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगमा आयोजित पत्रकार सम्मेलनमा मतपेटिका संकलन भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने जानकारी दिए । 


उनका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकतर्फको मतगणना सुरु गरिनेछ ।


आयोगले १ सय ६५ निर्वाचन क्षेत्रमा मतगणनासम्बन्धी परिपत्र जारी गरिसकेको जनाएको छ । 


मतगणना छिटो र व्यवस्थित बनाउन प्राविधिक तयारी गरिएको आयोगको भनाइ छ। मतगणना स्थलको सुरक्षाका लागि तारजाली र सिसिटिभी जडानको काम पनि सम्पन्न भइसकेको छ ।


भण्डारीका अनुसार पहाडी तथा दुर्गम भूभागबाट मतपेटिका छिटो संकलन गर्न विशेष व्यवस्था मिलाइएको छ । “सम्भव भएसम्म हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिन्छ,” उनले भने, “मतगणना सुरु भएको २४ घण्टाभित्र पहिलो हुने उम्मेदवारको परिणाम सार्वजनिक गर्ने लक्ष्य छ ।”


आयोगले १५ जिल्लाका ६१ स्थानबाट मतदानपछिका ब्यालेट बक्स हेलिकप्टरमार्फत संकलन गरिने जनाएको छ । मतपेटिका संकलनका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिनेछ ।


आयोगले मतपेटिका सुरक्षाको परम्परागत प्रचलनमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ । सुरक्षा व्यवस्थाअन्तर्गत सेना तेस्रो घेरामा रहनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex