काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले अनिवार्य रूपमा सम्पत्ति र वैयक्तिक विवरण पेस गर्नुपर्ने प्रावधान निर्वाचन आचारसंहितामा समावेश गरिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय–सुझावका लागि पठाएको नयाँ आचारसंहितामा उम्मेदवारहरूले मनोनयन पेस गर्दा दुवै प्रकारका विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था थपिएको हो ।
आचारसंहिताको बुँदा नम्बर १९ अनुसार, पहिलो हुने निर्वाचित हुने (फस्र्ट–पास्ट–द–पोस्ट) प्रणालीतर्फका उम्मेदवारले आयोगले तोकेको ढाँचामा तयार गरिएको सम्पत्ति विवरण शिलबन्दी रूपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।
उक्त सम्पत्ति विवरण मतगणनाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म गोप्य रूपमा सुरक्षित राखिने आयोगले जनाएको छ ।
उम्मेदवार विजयी भएमा उनकै अनुमति लिएर आयोगले तोकेको प्रक्रिया अनुसार विवरण सार्वजनिक गर्नेछ ।
विजयी नभएकाको विवरण भने उम्मेदवारले फिर्ता मागेमा फिर्ता गरिने, फिर्ता नचाहेमा अभिलेख राखेर धुल्याइने उल्लेख छ ।
यसैगरी, बुँदा नम्बर २० मा उम्मेदवारले मनोनयनपत्रसँगै वैयक्तिक विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।
उक्त विवरणमा नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव र आफूले उल्लेख गर्न चाहेको थप जानकारी समावेश गर्नुपर्ने हुन्छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन अधिकृतले सो वैयक्तिक विवरण कार्यालयमा सार्वजनिक गर्नेछ ।
आयोगले सबै क्षेत्रका विवरण एकीकृत गरी निर्वाचन आयोगको वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था पनि आचारसंहितामा राखिएको छ ।
Categorized in राष्ट्रिय