काठमाडौं । बहुप्रतिक्षित परियोजना अन्तर्गत नेपालमा पेट्रोलियम पाईपलाईन ल्याउने योजना पुरा भएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भईसकेको योजनाका अधिकारीले जानकारी दिँदै परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि असारभित्र सञ्चालनमा आउने भएको बताए ।
पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।
भारतीय आयल कर्पोरेशन (आइओसी) सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको हो । यही पाईप लाईन सञ्चालको लागि जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालीम जाने भएको छ ।
नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइने परियोजनालाई गति दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सक्रियता देखाएपछि काम सम्पन्न भएको हो । निगमका उपनिर्देशक पुष्कर कार्कीका अनुसार तालीमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउनेछ ।
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना छ ।
Categorized in राष्ट्रिय