काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ ।
निगमले पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँले बढाएको हो। नयाँ मूल्य दर आजदेखि लागू गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा पुगेको छ । यी क्षेत्रहरूलाई निगमले पहिलो वर्गमा राखेको छ ।
सो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४८ रुपैयाँ तोकिएको छ ।
काठमाडौं, पोखरा र दिपायाललाई तेस्रो वर्गमा राख्दै निगमले ती क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तोकेको छ ।
सो वर्गमा डिजेल र मट्टितेलको मूल्य भने १४९ रुपैयाँ कायम गरिएको छ।
हवाई इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ५१ अमेरिकी डलरले बढाइएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट असार १६ गतेदेखि लागू भएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनमा ६ रुपैयाँ ८८ पैसा वृद्धि भई आएको निगमले जनाएको छ । सोही अनुसार खुद्रा मूल्य समायोजन गरिएको हो ।
निगमले हालैको मूल्यवृद्धिले समग्र घाटा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
हेरौं मुल्य सुचिः
Categorized in बजार