काठमाडौं । काठमाडौंको सानो भ¥याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दिपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन ।
ज्यान मार्ने उद्योगको कसुरमा सर्वोच्च अदालतबाट पनि मनाङे दोषी ठहर भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएको थियो ।
कात्तिक २० गते सर्वोच्चले उच्च अदालत पाटनको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गरेका थिए । मनाङे यसअघि २ वर्ष ८ महिना कैद बसिसकेका अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ ।
सोही कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारको ख ब्लकमा चलान भएका हुन ।
२०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित एक रेटुरेन्टमा मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका कारण मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत, काठमाडौमा मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, (हाल उच्च अदालत) पाटन दर्ता भएको मुद्दामा अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
२०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी छुटे ।
यसैविच उनी २०७९ मा निर्विरोध सांसद निर्वाचित भएपछि दुई पटक मन्त्री भए । यस अघिको पनि गरी उनी ६ पटक विभिन्न मन्त्रालयका मन्त्री भएका थिए ।
Categorized in समाज