२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई श्रीपद भत्ता प्रदान


प्रकाशित: मंगलवार, १३ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । पूर्व कुमारी, पूर्व गणेश र पूर्व भैरवलाई श्रपद भत्ता प्रदान गरिएको छ । 


मंगलवार हनुमानढोका दरबार संरक्षण कार्यक्रमले एक कार्यक्रमको आयोजना गरी पूर्व कुमारी, गणेश र भैरवहरुलाई भत्ता वितरण गरिएको हो । 


९ जना पूर्वकुमारी, ७ जना पूर्व गणेश र ८ जना पूर्वभैरवलाई सो भत्ता वितरण गरिएको दरवार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले जानकारी दिए । 


सो अवसरमा कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उनीहरुलाई भत्ता प्रदान गरेका थिए । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठको उपस्थिती रहेको थियो । 


पूर्वकुमारीलाई मासिक १५ हजार र पूर्वगणेश एवं भैरवलाई १२/१२ हजार भत्ता प्रदान गरिएको थियो ।  विसं २०६९ देखि भत्ता प्रदान दिन थालिएको कार्यक्रम प्रमुख शाक्यले जानकारी दिए । 


आर्थिक वर्ष २०७७÷२०७८ देखि सहयोग बढाएर १५ हजार र १२/१२ हजार पुराएको कार्यक्रम प्रमुख शाक्यले जानकारी दिए । इन्द्रजात्रालगायत हनुमानढोका दरबार क्षेत्रमा हुने विभिन्न सांस्कृतिक गतिविधिमा कुमारी, गणेश र भैरवको भूमिका तोकिएको हुन्छ । 


बहालमा रहेकी कुमारीलाई भने मासिक ५० हजार भत्ता दिइन्छ । यसैगरी बहालमा रहेका गणेश र भैरवलाई ३०/३० हजार भत्ता दिने गरिएको छ । 


महानगरपालिकासँग ऋण लिएर भए पनि पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता दिने कामलाई निरन्तरता दिइएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले बताए । 


हनुमानढोका दरबार क्षेत्रको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि महानगरपालिकाले २०५८ साल भदौ १ गतेदेखि कार्यक्रमको सुरुवात गरेको हो । 


कार्यक्रमअन्तर्गत महानगरपालिकाका १९, २०, २३ र २४ गरी चार वटा वडामा फैलिएका सम्पदा संरक्षणको काम हुने गरेको छ ।


तस्वीरः अरविनमानसिंहको फेसबुकबाट
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex