काठमाडौं । ललितपुरको पाटनढोकाबाट आइतबारदेखि ‘वान वे’ मात्र सवारी चल्ने भएको छ ।
ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका छन ।
सवारी साधनको चाप धेरै भएकाले यहाँ बाहिरबाट आउने पर्यटकसँगै अरू पैदल यात्रु र व्यवसायीलेसमेत सास्ती भोग्दै आएकोमा सवारी चाप हटाउन यस्तो निर्णय लिइएको प्रमुख महर्जनको भनाई छ ।
महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखाको समन्वयमा पाटन ढोकामा हुलाक अगाडिको भागदेखि गेटतिरको क्षेत्र वान वे गरेको हो ।
यो सँगै युएनपार्क, ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनगेटहुँदै आउने चार पाङ्ग्रे सवारी साधनले पाटनढोका बसपार्कको बाटो प्रयोग गर्नुपर्ने भएको छ ।
यस क्षेत्रमा पाटन क्याम्पस, रातोबंगला स्कुल, भाटभटेनी सुपरमार्केट, सडक विभाग, लबिम मल, इन्जिनियरिङ क्याम्पस, अशोक पार्टी प्यालेसलगायतका बढी भिड हुने क्षेत्र यहीँ ठाउँमा भएकाले सवारी चाप धेरै हुने गरेको छ ।
महानगरको यस निर्णय अनुसार अब युएन पार्क तथा चाकुपाट हुँदै पाटन गेट भएर पुल्चोक निस्कने सवारीले पाटन बसपार्क भएर भाटभटेनी सुपरमार्केटहुँदै हरिहरभवन भएर जान सक्नेछन ।
यसअघि नगर प्रहरी प्रमुख सिताराम हाछेथु आफू ललितपुर ट्राफिक प्रहरी प्रमुख भएको बेला ग्वार्कोदेखि मंगलबजार क्षेत्र वान बनाएका थिए । ग्वार्कोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटोमा ‘वान वे’ लागू भएसँगै यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ ।
Categorized in समाज