काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ ।
शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराएसँगै प्लेअफ लाइनअप स्पष्ट बनेको हो ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोएल्स ७ खेलमध्ये ६ जित र १ हारसहित १२ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
अब उसले प्लेअफको पहिलो क्वालिफायरमा दोस्रो स्थानबाट प्रवेश गरेको विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरले शनिबारको खेलमा विस्फोटक ब्याटिङ गरेको थियो। १४८ रनको लक्ष्य उसले मात्र १२ ओभरमै पूरा गर्दै काठमान्डु गोर्खाजलाई पछाडिँदै क्वालिफायरमा स्थान बनायो ।
विराटनगर र काठमान्डु दुवैका ५ जितबाट १०–१० अंक रहे पनि नेट रनरेटका आधारमा विराटनगर अघि रहेको हो ।
रनरेटमा पछि परेपछि काठमान्डु गोर्खाज अब चौथो स्थानमा रहेको लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नेछ ।
लुम्बिनीले लिगमा ७ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंकका साथ चौथो स्थानमा प्रवेश गरेको थियो ।
सुदूरपश्चिम बाहेक बाँकी तीनै टोली पहिलो पटक प्लेअफमा पुगेका छन । अब मंगलबार सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर हुनेछ, जसको विजेता सिधै फाइनल पुग्नेछ ।
त्यस्तै बुधबार काठमान्डु–लुम्बिनीबीच हुने एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली बाहिरिनेछ ।
यसअघिका दुवै संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा एभेन्जर्स यसपटक पनि अन्तिम चारमा स्थान बनाउन नसक्ने एक मात्र टोली बनेको छ ।
Categorized in मनोरन्जन