काठमाडौँ । पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चाको पुननिर्माण सम्पन्न भएको छ ।
शनिवार काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको उद्घाटन गरे ।
कामवावडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न महानगरले जनाएको छ ।
फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गरेको व्यहोरा उल्लेख गरिएको छ ।
उद्घाटनपछि वडा अध्यक्ष संगतले पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेपनि आफूहरुको प्रयासको कारण सो सफल हुन नसकेको बताए ।
उनले कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको समेत बताए । फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ ।
सो अवसरमा भकुंंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको उल्लेख गरे ।
Categorized in सम्पदा/संस्कृति