काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीज मनाउन बुधबार विहानैदेखि पशुपतिमा भक्तजनहरुको भीडभाड लागेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) को अवसरमा भक्तजनहरुले सहज रुपमा दर्शन गर्न पाउन भन्ने उद्देश्यले मन्दिरका चारै ढाको खोलिएको छ ।
ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ ।
रातो, हरियो र पहेँलो पहिरनमा सजिएर आएका महिलाहरु भक्तजनहरुको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।
भक्तजनहरुलाई पूजा एवं दर्शन गर्न आउने लागि तीन वटा बाटोको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताएका छन् ।
मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥यांग हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।
त्यस्तै जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।
यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसठ्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । भक्तजन लाममा बसेको आधा घण्टादेखि एक घण्टामा मूल मन्दिर प्रवेश गरी भगवान उमामहेश्वरको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीका सवारीसाधन राख्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरी पारिको खाली भाग र महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ ।
पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको बताइएको छ ।
Categorized in समाज