काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।
मौसमविद्हरूका अनुसार देशमा पश्चिमी वायु र ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव परेको छ, जसका कारण हाल वर्षा भइरहेको हो ।
वरिष्ठ मौसमविद् वरूण पौडेलले आज रातिदेखि वर्षा अझै बढ्ने र यसको प्रभाव कोशी प्रदेशदेखि लुम्बिनीको पूर्वी भागसम्म फैलिने बताएका छन ।
वर्षाको प्रभाव भोलि दिनभर रहने र पर्सी बिहानदेखि मौसम क्रमशः सुधार हुने महाशाखाको पूर्वानुमान छ ।
पौडेलका अनुसार पर्सी बिहानदेखि काठमाडौंसहित देशका अधिकांश भागमा मौसम खुल्नेछ र बादल पूर्वतर्फ सर्दै जानेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश हुँदै प्रवेश गरेको यो प्रणालीले देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ ।
कोशीका धेरै स्थानमा मध्यम वर्षा, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाले उच्च पहाडी क्षेत्रमा हिमपात र सम्भावित बाढी–पहिरोको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन तथा अनावश्यक पदयात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय