काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहिद घोषणा गर्न माग गरेको छ ।
दबूले आइतवार बसन्तपुरको महादेव पावती डवलीमा आयोजना गरेको धर्ना कार्यक्रममा पत्रकार रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकार समक्ष माग गरेका छन् ।
धर्नामा विभिन्न वक्ताहरुले घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मी मारिएकोमा निकै दुःख व्यक्त गरे ।
सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उनलाई शहिद घोषणा गर्न माग गर्दै अध्यक्ष श्रेष्ठले सो माग पुरा नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै सरकार चैत्र १५ गते भएको प्रदर्शनमा मृतक हुनेलाई शहिद घोषणा र प्रति परिवारप्रति संवेदनशील भई परिवारप्रति उचित क्षतिपूर्ति दिन माग गरे ।
धर्र्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएकोमा दुःख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरे ।
सरकारले सञ्चारकर्मी सुरेश रजकलाई तीन दिन भित्र शहिद घोषणा नगरे सरकार विरुद्ध कडा रुपमा प्रस्त्ुत हुने पनि अध्यक्ष राजकर्णिकारको भनाई रहेको छ ।
मृतक सञ्चारकर्मीका परिवारको तर्फबाट राजेन्द्र रजकले तीनकुनेको घटना सरकार आफ्नो न्युनत्तम दायित्वबाट वञ्चित भएर घटनाको तथ्यबंग्याउन खोजेको बताउँदै पीडित परिवारप्रति उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो ।
पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले पनि निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य कुनै नौलो भएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्नहरु अनुत्तरित रहेकोले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गरेका छन ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के के मानन्धर, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले आफ्नो भनाई राखेका थिए ।
आज पनि दबूले धर्ना कार्यक्रम राखेको छ । आज साँझ ५ बजे ललितपुरको पाटन, मंगलबजारमा धर्ना कार्यक्रम रहेको छ ।
31 March 2025, Monday
Categorized in समाज