काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई १५ लाख सहयोग प्रदान गरेको छ ।
शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको हो ।
शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरे ।
उनले भने, ‘सही भन्दा पनि चाहिले भन्दा बढी लेपन गरेर समाचारलाई बङ्ग्याइयो भने त्यसले गलत सन्देश दिन्छ ।’ व्यवसायिक हिसावले मात्रै पत्रकारिता गर्दा वा आफ्नो रोजगारी जोगाउने मात्रै उदेश्यले गलत सन्देश दिने गरी समाचार संप्रेषण गरियो भने त्यसले सिङ्गो समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्ने शाक्यको भनाई थियो ।
कतिपय अवस्थामा सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको र त्यसको मारमा स्वयं पनि पर्ने गरेको गुनासो प्रमुख शाक्यले गरे ।
‘नरम बोल्यो भने त्यो समाचारले कम प्राथमिकता पाउँछ,’ शाक्यले भने ‘विशिष्ठ जिम्मेवारीमा रहेका व्यक्तिलाई गाली गर्न सक्यो भने त्यस्ता समाचारले बढी प्राथमिकता पाउने गरेका छन । त्यो प्रवृत्तिलाई अलिक करेक्सन गर्नुपर्छ कि भन्ने मेरो अपेक्षा पनि हो ।’
उनले शिर्षक विकाउ बनाउनका लागि पनि गलत सन्देश प्रवाह हुने गरेको तर्फ पनि सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराउँदै भने, ‘हामी सबै मिलेर यो देश बनाउनु छ । नेता र कर्मचारी मात्रै होइन हामी सबै त्यत्तिकै जिम्मेवार छौँ ।’
कार्यक्रममा सम्वोधन गर्ने क्रममै प्रमुख शाक्यले नेकपा भित्रको विवादका कारण मुलुक नै गम्भीर समस्यामा गुज्रिरहेको र सोही विवादमा हामी जस्ता कार्यकर्ताहरु मारमा परेको भनाई राखे ।
कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, राष्ट्रियसभाका सांसद रामनारायण विडारीलगायतले पनि सम्वोधन गरेका थिए ।
Categorized in समाज