२८ आश्विन २०८३, बुधबार
Header

पत्रकार तथा लेखक स्व. पदम श्रेष्ठको स्मृतिग्रन्थ सार्वजनिक


प्रकाशित: सोमवार, २६ असोज २०८३, ११ः१० बजे
- महानगरखबर

काठमाडौं  दिवंगत पत्रकार तथा लेखक पदम श्रेष्ठको व्यक्तित्व, संघर्ष, सिर्जना र सामाजिक योगदानलाई समेटेर तयार पारिएको ‘स्व. पदम श्रेष्ठ स्मृतिग्रन्थ’ सार्वजनिक गरिएको छ । 


उहाँको जन्मजयन्तीको अवसर पारेर घटस्थापनाका दिन आइतबार काठमाडौंको टेकुस्थित पचली भैरव परिसरमा रहेको नेपाली लोकबाजा संग्रहालयमा स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो ।


स्व. पदम श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशन समूहद्वारा आयोजित कार्यक्रममा ज्येष्ठ पत्रकार प्रेमनाथ जोशीको अध्यक्षतामा स्मृतिग्रन्थ लोकार्पण गरिएको थियो। कार्यक्रममा स्व. श्रेष्ठकी आमा सीतादेवी श्रेष्ठ, धर्मपत्नी शिवा तामाङ, छोरी उपमा श्रेष्ठलगायत परिवारका सदस्य, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।


नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा पत्रकार तथा घोस्ट राइडर नेपालका संस्थापक कमल ढकालले स्मृतिग्रन्थमा समेटिएका विषयवस्तु र स्व. श्रेष्ठको व्यक्तित्व तथा सामाजिक योगदानबारे चर्चा गरे ।


त्यसैगरी पत्रकार कुमार रञ्जित, स्व. श्रेष्ठकी धर्मपत्नी शिवा तामाङ, सम्पादकद्वयमध्येका शम्भू श्रेष्ठ र रसिला तामाङले पनि स्व. श्रेष्ठसँग सम्बन्धित अनुभव, सम्झना र योगदानबारे मन्तव्य राखेका थिए ।


नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा सूचक प्रकाशनका दीपक भेटवालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सुरुवात एक मिनेट मौनधारण र राष्ट्रिय गानबाट गरिएको थियो ।


स्मृतिग्रन्थमा स्व. श्रेष्ठको जीवनयात्रा, व्यक्तित्व, संघर्ष, सामाजिक सम्बन्ध र योगदानसँग सम्बन्धित लेख, संस्मरण तथा श्रद्धाञ्जली समेटिएका छन्। उहाँलाई नजिकबाट चिन्ने व्यक्तिहरूका अनुभव र सम्झनालाई अभिलेखका रूपमा सुरक्षित गर्दै भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । 


स्मृतिग्रन्थ प्रकाशनका लागि सहयोग गर्ने पाथीभरा प्रतिकृति मन्दिरका कोषाध्यक्ष पूजन बस्नेत, बेखराम बलामौ, भगवती तिमल्सिना, कमल ढकाल, विजय महर्जनलगायत सहयोगी तथा शुभेच्छुकहरूप्रति प्रकाशन समूहले आभार व्यक्त गरेको छ ।


स्व. पदम श्रेष्ठको जीवन र योगदानलाई दस्तावेजीकरण गर्दै उहाँको सम्झनालाई जीवन्त राख्न स्मृतिग्रन्थले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex