काठमाडौं । पतञ्जलि योगपिठसँग सम्बन्धित हदबन्दी छुट जग्गा सट्टापट्टा प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको बयान विशेष अदालतमा सुरु भएको छ ।
विशेष अदालतको इजलास नम्बर २ मा बुधबारदेखि नेपालले बयान दिन सुरु गरेका हुन ।
इजलासमा विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलास रहेको छ ।
नेपाल आफ्नै निवेदनका आधारमा अदालतमा उपस्थित भएका हुन । यसअघि उनले ‘आफैं उपस्थित भएर बयान दिन पाउँ’ भन्दै विशेष अदालतमा निवेदन दिएका थिए । अदालतले निवेदन स्वीकृत गर्दै बुधबार बिहान पेशी तोकेको थियो ।
नेपालका कानुनी सल्लाहकार कपिलदेव ढकालका अनुसार, बयान सकिएलगत्तै थुनछेक बहस अगाडि बढाइनेछ । उनका अनुसार, बयान छोटो समयमै सक्ने र कानुनी प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउने तयारी छ ।
१८ करोड बिगो मागदाबी, सांसद पद निलम्बनमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलि प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
नेपालले प्रधानमन्त्रीका रूपमा २०६६ सालमा मन्त्रिपरिषद् बैठकमार्फत काभ्रेपलाञ्चोकमा रहेको पतञ्जलि योगपिठ र आयुर्वेदिक कम्पनीका नाममा हदबन्दी छुटको जग्गा खरिद गर्न स्वीकृति दिएका थिए ।
तर सो जग्गा हदबन्दीभन्दा बढी क्षेत्रफलमा खरिद–बिक्री भएको भन्दै आयोगले छानबिन अघि बढाएको थियो ।
आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
“नियत खराब थिएन” – नेपालको स्पष्टीकरण
अख्तियारमा यसअघि दिएको बयानमा नेपालले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका थिए ।
नियतवश गल्ती भएको भए पनि सजाय भोग्न तयार रहेको उनले बताएका थिए।
‘मैले कसैलाई पनि नियम, कानुन र विधि मिचेर काम गर्नु भनेर आदेश दिएको छैन,’ नेपालले भनेका थिए, ‘मेरो नियतमा प्रश्न नगर्न म सबैमा आग्रह गर्छु।’
उनले स्मृतिमा नरहेको भन्दै केही निर्णयहरूबारे तत्कालीन कर्मचारी र सम्बन्धित निकायको भूमिकामाथि पनि संकेत गरेका छन ।
“निजी स्वार्थमा आधारित कुनै पनि निर्णय मेरो तर्फबाट भएको छैन,” नेपालले भनेका छन ।
Categorized in राष्ट्रिय