काठमाडौं । नेपाली कांग्रेसको बुधवार बसेको केन्द्रिय कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि सरकारले लगाएको फौजदारी मुद्दाप्रति आपत्ति जनाएको छ ।
गत शनिवार पोखरामा नेविसंघका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडी जलाएको अरोपमा पक्राउ परेका नेताप्रति फौजदारी मुद्दा लगाउनु गम्भिर भएको बैठकले भनेको छ ।
बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा केही दुःखद घटना भएको र त्यसलाई नै आधार मानेर पोखरामा नेविसंघ नेताहरुलाई फौजदारी मुद्दा लगाइएकोमा आपत्ति जनाएको हो ।
त्यसैगरी माघ २१ गतेको नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन सकिएपश्चात धनुषामा पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
कापडीको जनकपुरमा प्राथमिक उपचारपछि हाल उनको उपचार विराटनगरमा भइरहेको छ । बैडकले सो घट्नाको तत्काल जाहेरी दर्ता गरी दोषीमाथि कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।
बुधबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए ।
विहिवार पनि बैठक बस्ने पार्टी कार्यलयले जनाएको छ ।
Categorized in राष्ट्रिय