ललितपुर/नेवाः फिल्मकर्मीहरुको सम्पूर्ण विवरणसहितको डाइरेक्ट्री प्रकाशन हुने भएको छ । नेवाः फिल्म सोसाईटीले नेवाः फिल्म डाइरेक्ट्री प्रकाशन गर्ने भएको हो ।
सोसाईटीले आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी डाइरेक्ट्री प्रकाशनको घोषणा गर्यो । सोसाईटीका उपाध्यक्ष साथै डाइरेक्ट्री प्रकाशनका संयोजक दर्शनबीर शाक्यले नेवाः चलचित्रको ईतिहास अभिलेखीकरण गर्नका लागी उक्त डाइरेक्ट्री प्रकाशन गर्न लागिएको जानकारी दिनुभयो ।
वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले हालसम्म निर्माण भएका नेपालभाषाका चलचित्रहरुको संख्या र यस क्षेत्रमा सक्रिय चलचित्रकर्मीको अभिलेखीकरण हुने भएकोले डाईरेक्ट्री चाँडो भन्दा चाँडो प्रकाशन गर्न सुझाव दिनुभयो ।
आदिवासी जनजाति चलचित्र महांसघका महासचिव पुर्खाजित राईले यस डाइरेक्ट्रीले नेवाः चलचित्रको तथ्याङ्क सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष अमृत सुनुवारले लामो संघर्ष र विभिन्न चरणको सम्वाद पछि चलचित्र दर्ता प्रक्रियामा केही मागहरु सम्वोधन भएपनि सेन्सरमा हिन्दुवादी सोच हावी रहँदा जनजाति समुदायले चलचित्रमा आफ्ना मौलिक कथावस्तु प्रस्तुतिमा समस्या भईरहेको बताउनुभयो ।
सोसाईटीका अध्यक्ष लुःजः सिंहले सोसाईटीले नेवाः चलचित्रलाई राष्ट्रिय साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन प्रयत्नरत रहेको बताउनुभयो । चलचित्रकर्मीको लागी दुरगामी उपलब्धीको लागी सोसाईटीले योजना बनाइरहेको पनि अध्यक्ष सिंहले बताउनुभयो । तेश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको साथमा तेश्रो नेवाः चलचित्र महोत्सवको लागी समेत चलचित्र दर्ताको लागी सिंहले आव्हान गर्नुभयो ।
कार्यक्रममा नेवाः साथै नेपालकै चलचित्रको ईतिहास र सोसाईटीका गतिविधिहरुको जानकारीमूलक फोटोहरुको प्रदर्शनी पनि भएको थियो ।
Categorized in राष्ट्रिय